हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ। काठमाडौंमा ठूलो लिंगोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्ग ठड्याउने पनि चलन छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ ।
इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिंगो ठड्याउनु हो । यो लिंगो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ । यही लिंगोमा अंकित पाताहरूमा सुनको जलप र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा बनाइन्छ । यही दिन नै श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।
संस्कृतिविद् हरेराम जोशीका अनुसार लिंगो ठड्याएको दिन नै महाकाली नाच, लाखे नाच जस्ता नाचहरू नाच्ने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा एवं सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको जोशी बताउँछन् ।
जात्राको सुरुवात एवं महत्व
भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीका दिनसम्म मनाइने येँया पुन्ही अर्थात् इन्द्र जात्रा आइतबारदेखि नै सुरु भए पनि कुमारीको रथयात्रा भने मंगलबारबाट सुरु भएको हो ।
सकारात्मक र नकारात्मक किंवदन्तीसँग समेत जोडिएको इन्द्रजात्राको सुरुवातलाई हेर्दा एक हजारदेखि १५ सय वर्षअघिदेखि चलेको भन्ने मत पाइन्छ । संस्कृतिविद् हरेराम जोशीका अनुसार यो जात्राको सुरुवात उत्तर लिच्छविकालदेखि भएको हो । उनको मतलाई आधार मान्दा यसको सुरुवात गुणकामदेवले गरेको भन्ने मतसँग मिल्न आउँछ ।
जोशीका अनुसार काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको समयसम्म सानो लिंगो ठड्याएर प्रतिकात्मक रूपमा मनाउने गरिन्थो । तर जयप्रकाश मल्लले कुमारी जात्रा र इन्द्रजात्रालाई संयोजन गर्ने काम गरे । उनको पालाभन्दा पहिले प्रतिकात्मक रुपमा लिंगो बनाएर त्यसको पूजा गर्ने चलन भए पनि जयप्रकाश मल्लको पालादेखि यसलाई धुमधामका साथ मनाउन थालिएको जोशी बताउँछन् ।
इन्द्रजात्रासँग जोडिएको किंवदन्ती
जोशीका अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्नका लागि आवश्यक पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए । पारिजातको फूल खोज्दै इन्द्र हालको भीमसेनस्थानभन्दा तल रहेको एउटा बँगैचामा पुगे । उनले बहुमूल्यको पारिजातको फूल कसैको अनुमतिविना नै टिप्न खोजेपछि तान्त्रिक विद्या जानेका मालीले तान्त्रिक विधिमार्फत् इन्द्रलाई समातेर राजा समक्ष पेश गरे । उनलाई सबैले देख्ने चोकमा एउटा लिंगोमा बाँधेर राखिएको थियो । फूल टिप्न आएका इन्द्रले पृथ्वीवासीबाट सजाय पाइरहेका थिए ।
लामो समयसम्म पारिजातको फूल लिन गएको छोरा नफर्किएपछि आमा वसुन्धराले ऐेरावत हात्तीलाई छोरा खोज्न पठाइन् । इन्द्रलाई खोज्न आएको हात्तीले भिडको बीचमा अफ्ट्यारोमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि आफ्नो छोरा खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन् । बसुन्धरा छोरा खोज्दै बौलाहीको भेषमा आएकी थिइन् । कतिले धानबाली समयमै पाक्ने बनाइदिने र मरेकालाई स्वर्ग लैजाने बाचा गरेर इन्द्रलाई छुटाएको भन्ने किंवदन्तीलाई मान्छन् भने कतिपयले एक्कासी तुवालो खडा गरेर कसैले कसैलाई पनि नदेख्ने बनाएर बसुन्धराले इन्द्रलाई भगाएको भन्ने किंवदन्ती पनि छ ।
यसरी यहाँबाट छुटाएका इन्द्र र बसुन्धरा थानकोटमा रहेको इन्द्रदहमा नुहाएर स्वर्ग गए भन्ने भनाइ छ । बसुन्धराको बाचा अनुसार त्यसपछि काठमाडौंका खेतीबारी राम्रो हुन थाले भने मरेकाहरू पनि स्वर्ग जान थाले भन्ने विश्वास छ । रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछि दिवंगतहरू स्वर्ग जान्छन् भन्ने जनविश्वास छ ।
कतिपयले यो पर्वलाई देवता र दानवबीचको युद्धसँग पनि जोड्ने गर्छन् । सो युद्धमा इन्द्रले जितेपछि पृथ्वीका राजा उपरिचर वसुले थाहा पाएर इन्द्रको आराधना गरेका थिए । इन्द्र प्रसन्न भएर वरदान स्वरुप इन्द्रध्वजा नै दिएका थिए । त्यसैले हरेक वर्ष इन्द्रध्वजाको पूजा गर्ने चलन बसेको भन्ने किंवदन्ती समेत पाउन सकिन्छ ।
इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भन्ने विधि पूरा गर्ने गरिन्छ । यसदिन वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखनहुँदै पुनः वसन्तपुर नै पुर्याइन्छ । सोही रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली त्यसलाई तानेर वाग्मतीमा लगी सेलाइन्छ । त्यसपछि इन्द्रजात्रा विधिवत रूपमा समाप्त हुन्छ ।
सामाजिक एकताको पर्व
प्रायः सबै पर्वहरू सामाजिक एकताका पर्वहरू हुन् । तर अरुभन्दा पनि इन्द्रजात्राको एकता अभूतपूर्व छ । नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहले पनि नेपाल एकीकरण गर्दा सबै जना जात्रामा रमाइरहेको मौका छोपेका थिए भने यहाँका राजालाई पराजित गरेपछि उनले कुमारीको दर्शन गरेर यहाँका जनताको मत लिएका थिए भन्ने किंवदन्ती छ । जोशी इन्द्र जात्राले हिन्दु र बौद्धमार्गीहरूलाई समेत एकीकृत गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । साथै, जात्रा पर्व र विभिन्न नाचले समाजमा रहेको तहगत भिन्नतालाई पुरेर समानताको पाठ सिकाउने भएकोले सामाजिक रुपमा यसको महत्व रहेको उनी बताउँछन् ।






One Response
Jay Indra Jatra